गृहपृष्ठ /अन्तर्राष्ट्रिय / अत्याधिक गर्मीका कारण हज यात्रामा गएका जोर्डनका १४ र इरानका ५ तीर्थयात्रीको मृत्यु

अत्याधिक गर्मीका कारण हज यात्रामा गएका जोर्डनका १४ र इरानका ५ तीर्थयात्रीको मृत्यु

काठमाडौं । अत्याधिक गर्मीका कारण जोर्डनबाट हज यात्रामा साउदी अरब गएका कम्तीमा १४ तीर्थयात्रीको मृत्यु भएको छ । हज यात्राका क्रममा अन्य १७ जना तीर्थयात्री बेपत्ता भएको जोर्डनको विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

जोर्डनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘१४ जोर्डनका तीर्थयात्रीको मृत्यु भएको छ भने १७ तीर्थयात्री हज यात्राका क्रममा बेपत्ता भएका छन्।’ अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अत्याधिक गर्मीले स्ट्रोकका कारण सर्वसाधारणको मृत्यु भएको हो । ती तीर्थयात्रीहरूलाई साउदी अरेबियामा दाहसंस्कार वा जोर्डनमा स्थानान्तरण गर्न साउदी अधिकारीहरूसँग वार्ता जारी रहेको मन्त्रालयले जनाएको छ।

इरानी तीर्थयात्रीको पनि मृत्यु
इरानले पनि हज यात्राका क्रममा आफ्ना पाँच तीर्थयात्रीको मृत्यु भएको जनाएको छ । यद्यपी इरानले मृत्युको कारण भने पुष्टि गरेका छैनन् । साउदी अरेबियाले पनि ज्यान गुमाउनेहरूको बारेमा आधिकारिक बयान जारी गरेको छैन। साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद अल अब्दुलअलीले आइतबार २,७६० तीर्थयात्रीलाई घाम र गर्मीको प्रकोप भएको बताए। यो संख्या अझै बढ्न सक्ने उनको भनाइ छ । साथै उनले तीर्थयात्रीलाई दिउँसो बाहिर ननिस्कन आग्रह गर्दै आफूलाई हाइड्रेटेड राख्न आग्रह गरेका छन् ।

सोमबार मक्काको तापक्रम ४७ डिग्री सेल्सियस पुग्ने सम्भावना छ । हजयात्रा बुधबार समापन हुँदैछ । गत वर्ष हज यात्राका क्रममा २ सय ४० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश इन्डोनेसियाका थिए । मृत्युको कारण भने खुलाइएको छैन ।

सम्बन्धित समाचार