Author
६ असार २०८१, बुधबार १२:२३
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रामक व्यवहार देखाएका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।
जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले आईसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।
आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो।नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभर पछि आक्रामक हुँदै भनाभन गरेका थिए ।
त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले त्यति नै बेला बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।
आईसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ । २४ महिनाको अवधिभित्र कुनै खेलाडीको चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा निलम्बन अंकमा परिणत हुने र खेलाडीलाई प्रतिबन्ध लगाइन्छ। यो अवधिमा सकिबको यो पहिलो डिमेरिट अंक हो ।