गृहपृष्ठ /पर्यटन / नारायणी किनारमा फागुन १८ गते भरतपुर भ्रमण वर्षको उद्घाटन हुने

नारायणी किनारमा फागुन १८ गते भरतपुर भ्रमण वर्षको उद्घाटन हुने

चितवन। भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीलगायतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो ।

महानगरले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय यसअघि नै गरिसकेको थियो । यसअघि जनवरी १ मा उद्घाटन गर्ने तय भए पनि तयारी नपुगेको भन्दै केही समय पर धकेलिएको थियो ।

महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा। विश्व सुवेदीका अनुसार उद्घाटनमा सङ्घ, प्रदेश र स्थानीय तहका पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वको समेत उपस्थिति हुनेछ । सो अवसरमा महानगरपालिकाका २९ वडाकै नागरिकलाई सहभागी गराउनका लागि सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिइनेछ ।

भ्रमण वर्षको वडास्तरमा प्रचारका लागि वडाअध्यक्ष संयोजक रहेको प्रवर्द्धन समिति बनाइएको छ । महानगरभित्रका वडाबाट र्‍याली र झाँकीसहितको टोली विभिन्न स्थानमा जम्मा भइ नदी किनारमा पुग्ने गरी तालिका बनाइएको छ ।

भरतपुरको चौबीसकोठी, हाकिमचोक, त्रिचोक, बेलचोक, गेष्टहाउस चौर र क्याम्पा चौरमा भेला भएर हात्तीसहितको झाँकी नदी किनार पुग्ने छ ।

भ्रमण वर्षको उद्घाटन अघि नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् ।

भ्रमण वर्षका लागि भरतपुर महानगरभित्र सात वटा मुख्य र २१ वटा अतिरिक्त गन्तव्य निर्धारण गरी प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो ।

भ्रमण वर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति, प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य छन् ।

उपप्रमुख चित्रसेन अधिकारीका अनुसार छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारले दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैगरी नेपाल पर्यटन बोर्डबाट ७० लाख निकासा भइसकेको छ ।

भ्रमण वर्ष तयारीका क्रममा महानगरले भौतिक निर्माणमा पनि खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उनको भनाइ छ । भ्रमण वर्षले यहाँको पर्यटन बजार चलायमान बनाउनुका साथै पर्यटक आगमन बढाउने उपप्रमुख अधिकारीको भनाइ छ ।

महानगरले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुराँलाई विशेष छुटमा प्याकेज उपलब्ध गराउन आग्रह गरिएको छ । होटल रेष्टुराँले भ्रमण वर्षका अवसरमा १५ देखि ४० प्रतिशतसम्म छुटसहितको प्याकेज प्रस्ताव महानगरपालिकामा पेस गरेका छन् ।

महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । जसमा मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमताका होटल छन् । गैँडाकोटसहित जोड्दा चितवनमा १५ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको पर्यटक सम्बद्ध संघले जनाएका छन् ।

भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने गरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५१ भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ सुरु भए यता पाँचवटा भ्रमण वर्ष केन्द्रित कार्यक्रम सम्पन्न भइसकेका छन् ।

यसै अवसरमा महानगरले सङ्घीय सरकारलाई भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह समेत गरेको महानगर प्रमुख दाहालले बताइन् । भ्रमण वर्षकै अवसरमा ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदै छ ।

यसैगरी दुर्लभ पाटेबाघ, एक सिङ्गे गैँडालगायतका जनावर हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ । जसका लागि महानगरपालिकाले साझेदारीमा काम गरेको छ । भ्रमण वर्षका अवसरमा विश्वका ६१ भन्दा बढी देशका भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउने गरी निम्तो दिइएको छ ।

सम्बन्धित समाचार