गृहपृष्ठ /राजनीति / सर्वसाधारणका लागि खुल्यो धरहरा

सर्वसाधारणका लागि खुल्यो धरहरा

काठमाडौं । ९ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।

संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्ण रूपमा भने सकिएको छैन । धरहराको ९५ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो । धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो ।

२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो ।

सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने पाइने छ । रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने बताइएको छ ।

सम्बन्धित समाचार